काठमाडौं, ११ मंसिर । अकुत सम्पत्ति आर्जनमा अर्का नायबसुब्बा थपिएका छन्– मदनप्रसाद गुप्ता। अख्तियारले मालपोत कार्यालय सिमराका तत्कालीन नासु गुप्ताविरुद्ध १५ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ। उनी मालपोत कार्यालय कलैया बारामा दरबन्दी भई सिमरामा कार्यरत थिए।
२७ वर्षे जागिरेकालमा उनको खर्च तथा लगानीको तुलनामा आम्दानी कम देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। अख्तियारको अनुसन्धानले ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध आर्जन ठह¥याएको छ। यो सम्पत्ति तलब पारि श्रमिक, बचत, आय, घरजग्गा बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा, छोरा रकीको आय, घरबहाल आयसमेत गरी हो। जम्मा १९ करोड ३६ लाख ६५ हजार खर्च तथा लगानी देखिएको प्रवक्ता कोइरालाले सुनाए। १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्ति स्रोत नखुलेको पाइएको छ।
गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरेका थिए। उनी २०६४ मा नासुमा बढुवा भएका हुन्। उनले मालपोत पर्सा हुँदै सिमराका निमित्त प्रमुख भएर काम गरेका थिए। उनले आफू तथा आफ्नो परिवारका सदस्यसहित अन्य व्यक्तिका नाममा पनि दर्ता कायम रहने गरी घरजग्गा, सवारी साधन र व्यवसायलगायत विभिन्न शीर्षकमा खर्च/लगानी गरेको देखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।