२८६९ जना अध्यागमनको कालोसूचीमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

२८६९ जना अध्यागमनको कालोसूचीमा

काठमाडौं, ७ मंसिर । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको रकम अपचलन गरेको अभियोगमा बैंकर पवनकुमार कार्की इन्टरपोलको रेडकर्नर नोटिस जारी भएका आरोपित हुन् । उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । ०७२ मंसिरमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो ।

चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्ध मानव तस्करी अभियोगमा ०७६ वैशाखमा रेडकर्नर नोटिस जारी भएपछि अध्यागमनले पनि उनलाई कालोसूचीमा राखेको छ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरणमा संलग्न केशव दर्लामी मगर ११ वर्षदेखि फरार छन् । उनी इन्टरपोलका साथै अध्यागमनको पनि फरार सूचीमा छन् । ०६५ भदौमा उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो ।

कार्की, गौतम र मगरसहित अध्यागमनले विभिन्न अपराध अभियोगमा फरार र अनुसन्धानका क्रममा रहेका २ हजार ८ सय ६९ जनालाई कालोसूचीमा राखेको छ । उनीहरू नेपालबाट अर्को मुलुक जान नपाउने र विदेशबाट त्यस्ता व्यक्ति आएको जानकारी पाउनासाथ तत्काल पक्राउ गरिने विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

‘नेपालमा अपराध गरेर कानुनी दायरामा नआएकालाई अदालत, अख्तियार, प्रहरीलगायत निकायको पत्रपछि अध्यागमनले कालोसूचीमा राखेर निगरानी गर्छ,’ उनले भने, ‘अध्यागमन कानुन उल्लंघन गरेर देशनिकाला भएका कतिपय विदेशीलाई पनि निश्चित अवधिका लागि कालोसूचीमा राखिएको छ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);