बारा, १ मंसिर । बाराको प्रसिद्ध गढीमाई मेला आजदेखि सुरु भएको छ । प्रत्येक ५ वर्षमा एकपटक बाराको सिम्रौनगढ नगरपालिका–१ स्थित बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिर महिनाभरी चल्नेछ ।
मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ । लाखौंको संख्यामा आउने भक्तजनको सुरक्षाका लागि मेला व्यवस्थापन मूल समितिले अघिल्लो मेलाभन्दा थप व्यवस्थित बनाएको बताएको छ ।
गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले समेत विशेष रणनीति बनाएको छ । मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा समितिको छ । मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान गरिएको छ भने ड्रोनबाटसमेत निगरानी गर्ने मेला व्यवस्थापन समितिले बताएको छ ।