एजेन्सी, २४ कात्तिक । अष्ट्रेलियाका क्वीन्सल्याण्डको जंगलमा लागेको डढेलोको कारण ३ जनाको मृत्य भएको छ भने अन्य ४ जना हराइरहेका छन् । गत शुक्रबारदेखि लागेको डढेलो हालसम्म नियन्त्रणमा आएको छैन ।
यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले १३ सय अग्नीनियन्त्रक परिचालन गरेको बताउँदै डढेलो नियन्त्रणका लागि सेना समेत पठाउन सकिने जानकारी दिएका छन् । यता डढेलो नियन्त्रणका लागि खटिएका अग्नीनियन्त्रकलाई क्वीन्सल्याण्ड र साउथ वेल्समा सयौं नागरिकहरुले स्वयमसेवकको भूमिका निर्वाह गरिरहेका छन् ।
डढेलोका कारण सय भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । प्रतिसेकेन्ड ३५ सेन्टिमिटरको दरले ताप आएकोले हजारौं हेक्टर जंगल जलेर खरानी भएको मौसमविदहरुले जनाएका छन् । डढेलोका कारण सो क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ भने डढेलो लागेको क्षेत्रका आसपासका सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।