गोरु नारेर खेलमैदान | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

गोरु नारेर खेलमैदान

goru narer

काठमाडौं, १५ असोज । सिरिजंघा गाउँपालिका ६ खेबाङका अशोक तुम्याहाङ हल गोरु लिएर निस्किए । काँधमा हलो–जुवा बोकेर गोरु धपाउँदै उनी स्थानीय गणेश माविको खेलमैदानमा पुगे । उनी घरबाट खेतबारी होइन, खेलमैदान जोत्न हिँडेका थिए । मैदान विस्तार र व्यवस्थित बनाउन उनीसँगै हलगोरु नार्नेमा कुमार तुम्याहाङ पनि थिए । ६४ वर्षीय ज्ञानप्रसाद दाहाल हलगोरुको पछिपछि हिँड्थे ।

उनको जिम्मेवारी ढुंगामा हलो अड्किए झम्पल हानेर निकाल्ने थियो । उनको जोस देखेर युवा ‘काकाले उमेरमा गोठ बसेर घिउ खाएको बल निकाल्नुभयो’ भन्दै हौस्याउँथे । खेलमैदान बनाउने क्रम पाँच दिनसम्म चल्यो । मैदान बनाउन खेबाङमै घर भएका कांग्रेसका सिरिजंघा गाउँपालिका सभापति भीमप्रसाद दाहाल, नेकपाका वडाध्यक्ष पदमलाल पाण्डे लगायतका नेताहरू पनि सहभागी थिए । खेबाङ स्पोर्टिङ क्लबले पहलमा भएको यो काममा ६७ जनाको समूह दैनिक खटिएको थियो ।

फुटबल प्रतियोगिता गर्नका लागि खेलमैदान सम्याइएको हो । ‘पोहोर सडक खन्न गाउँ आएको एस्काभेटर लगाएर मैदान विस्तार गरेका थियौं,’ क्लब अध्यक्ष विनम माबोले भने, ‘एस्काभेटरले खाल्डाखुल्डी बनाइदिएको थियो । त्यसलाई यसपालि सम्याएर व्यवस्थित गर्‍यौं ।’ ठूला–साना ढुंगा निस्कने र कोदालाले माटो उघाएर अर्को ठाउँमा लैजान पनि सजिलो हुने भएकाले गोरु लगाएर जोतेको अध्यक्ष माबोले बताए । ‘खेतबारी जोतेजस्तो सजिलो त कहाँ हुन्थ्यो र !’ तुम्याहाङले अनुभव बताए, ‘मैदान जोत्न निकै साह्रो रहेछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);