संविधान सभाबाट संविधान जारी भएको ४ वर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संविधान सभाबाट संविधान जारी भएको ४ वर्ष पुरा

सीता शर्मा
काठमाडौं, २ असोज । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुरा भएको छ । संविधान जारी भएको ४ वर्षसम्म पनि अझै यो पुर्ण रुपमा कार्यान्वयनमा भने आउन सकेको छैन ।

जसका कारण जनताले संविधानले दिएको अधिकार उपभोग गर्न नपाएको अवस्था छ । संविधानको कार्यान्वयनमा महत्वपुर्ण जिम्मेवारी पाएको वर्तमान सरकारको गतिविधीले संविधान कार्यान्वयन जटिल बनेको राजनीतिक दलका नेताहरुको बुझाई छ ।

यसरी तत्कालिन राष्ट्रपति रामबरण यादवले नेपालको संविधान जारी गरेपछि २००७ सालदेखि आफ्नो संविधान आफै बनाउने नेपाली जनताको चाहना २०७२ साल असोज ३ गते पुरा भएको थियो ।

एक पटकको संविधानसभा संविधान बनाउन नसकेर विघटन भएपछी दोस्रो संविधानसभाबाट संविधान जारी भएको थियो । संविधानसभामा प्रतिनिधित्व गरेका ९२ प्रतिशत सदस्यहरुको सहमतिमा नेपालको संविधान २०७२ जारी भएको थियो ।

संविधानसभाका सदस्यको अत्यधिक बहुमतले संविधान जारी भएपनि अझै यो संविधानलाई मधेशवादी दलहरुले स्वीकार गर्न सकिरहेका छैनन् । पुुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सबैलाई मान्य हुने संविधान नबनाउँदासम्म संविधानले पुर्णता नपाउने भन्दै सर्वप्रथम संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

संविधान अनुरुप जनताले परिवर्तनको महसुश गर्न नपाएको गुनासो बढिरहेको छ । संविधान अनुरुप बनेका तीन तहका सरकार बिच समन्वय र अधिकार बाडँफाँडको विषय चुनौतिपुर्ण बनेको छ ।

जसले गर्दा जनताले संविधानमा उल्लेख भएअनुरुपका अधिकारको उपभोग गर्न पाएका छैनन् । संविधानको कार्यान्वयन गर्न प्रमुख जिम्मेवारी पाएको सत्तारुढ दलको गतिविधीले संविधानको कार्यान्वयनमा चुनौति देखिएको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकको भनाई छ ।

संविधान पुर्ण रुपमा कार्यान्वयन नहुँदै संविधानका उपलब्धी मानिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका जस्ता विषय अहिले विवादित बन्दै आएका छन् ।

संविधान बनाउनका लागी प्रमुख भुमिका खेलेका राजनीतिक दल र तिनका नेताहरु नै अहिले संविधान कार्यान्वयनमा जटिल परिस्थीती आएको र संविधान मार्फत आएका उपलब्धी पनि गुम्ने खतरा रहेको बताउन थालेका छन् ।

यता सत्तारुढ दलका नेताहरु भने सरकार संविधान कार्यान्वयनको चरणमा रहेको बताउने गरेका छन् । संविधान मर्म र भावना अनुरुप नै सरकार अगाडी बढेको हुनाले जनताले त्यसको अनुभुती गर्नका लागी केहि समय लाग्ने बताउँछन् ।

जसरी उत्साहका साथ नेपालको संविधान जारी गरीएको थियो त्यसरी कार्यान्वयनका लागी राजनीतिक दलहरुमा एकता देखिएको छैन । जसले जनतालाई निराशा मात्र पैदा गराएको छ । निराशाको आक्रोस पछिल्लो समय सडकदेखि सदनसम्म देखिंदै आएको छ ।

बढ्दो आक्रोसले शीर्ष नेताहरु नै प्राप्त उपलव्धी गुम्नसक्ने भन्दै अभिव्यक्ति पनि दिंदै आएका छन् । त्यसैले लामो संघर्ष पछी नेपाली जनताको प्राप्त गरेको उपलब्धी सहितको संविधान पुर्ण रुपमा कार्यान्वयनमा लैजान सम्पुर्ण राजनीतिक दलहरुमा राष्ट्रिय अठोटको आवश्यकता देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);