बीमाको दायरामा आए कर्णालीवासी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

बीमाको दायरामा आए कर्णालीवासी

karnali

काठमाडौं, २ असोज । कर्णाली प्रदेशले आफ्ना १७ लाख ७० हजार जनताको सामूहिक रूपमा दुर्घटना बीमा गरिदिएको छ । प्रदेश सरकार आफैले बीमाशुल्क तिरेर राष्ट्रिय बीमा कम्पनीमार्फत प्रतिव्यक्ति रू. १ लाख बीमांकका दरमा उनीहरूको यस्तो बीमा गरिदिएको हो । भौगोलिक जटिलता र विपद्बाट हुने दुर्घटनाका कारण मृत्यु भएमा प्रतिव्यक्ति रू. १ लाख भुक्तानी गरिने बताइएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष (आव) २०७६/७७ को वार्षिक बजेटमा नै प्रदेशका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गर्ने योजना ल्याएको थियो । सोही योजना कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले बुधवार राष्ट्रिय बीमा कम्पनीसँग आवश्यक सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार यसका लागि प्रदेश सरकारले प्रतिव्यक्ति ७ रुपैयाँका दरले बीमाशुल्क बापत कम्पनीलाई रू. १ करोड २३ लाख ९० हजार तिर्नुपर्ने हुन्छ ।

बीमा समितिका अनुसार कर्णाली प्रदेशमा बीमा गर्ने व्यक्तिको संख्या अत्यन्त कम छ । अब भने नेपालकै विकट मानिने कर्णालीका नागरिक बीमाबाट लाभान्वित हुन पाएका छन् । उनीहरूलाई बीमामा ल्याउने उद्देश्य अनुरूप बिहीवार (आज) देखि बीमालेख जारी गर्ने तयारी गरिएको कम्पनीको भनाइ छ ।

यस्तै, सरकारले प्रदेशका १० हजार घरको रू. ५ लाखको बीमांकको दरमा बीमा पनि गरिदिने भएको छ । यो पनि बजेटमा नै उल्लेख गरिएको योजना हो । सम्झौतापत्र अनुसार बीमा गर्न एउटा जिल्लाबाट एक हजार घर छनोट गरिनेछ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);