प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारभित्र संघीय संसद भवनको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारभित्र संघीय संसद भवनको शिलान्यास

काठमाडौं, १ असोज । सिंहदरबारभित्र संघीय संसद भवनको शिलान्यास गरिएको छ । इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो ।

संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेको छ । मूल्यबृद्धि र विभिन्न कन्टिजेन्सी सहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पुर्ण निर्माण कार्यको लागत भने कबि ९ अर्ब ६० करोड रहेको छ ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभयो ।

संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्ने छन् ।

परिसर भित्रका भवनहरु ३ देखि ५ तलासम्म निर्माण गरिने छ । प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्ने छन् ।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरि तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुने छ ।

परिसरको मूल ढोका दक्षिण तर्फ रहने छ । उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराईने छ भने दक्षिण पुर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ । सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ ।

संसदको आफ्नै भवन नहुँदा अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिई संघीय संसदका दुवै सदनको बैठक संञ्चालन हुँदै आएको छ । सचिवालय र समितिका बैठकहरु भने सिंहदरबारभित्र सञ्चालन हुँदै आएका छन् । नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पुर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);