काठमाडौं, २० भदौ । पर्यटन बर्ष २०२०मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ । शुक्रबार प्रतिनिधि सभाको बिकाश तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताउनु भएको हो ।
नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षाबारे धेरै चासो राख्ने गरेको बताउनु भयो । अहिले पनि प्रमुख पर्यटकिय गन्तब्य सम्मको पहुँचमा पुग्नका लागि सडकको अवस्था नसुध्रिएको प्रमुख कार्यकरी अधिकृत जोशीले बताउनुभयो । पर्यटन वर्ष २०२० सफलतापुर्वक मनाउन सडकको अवस्था र सुरक्षा चुनौती प्रमुख रहेको उहाँको भनाई छ ।
समितिमा सांसदहरुले काठमाडौँको सडकको दुरावस्थाले २० लाख पर्यटक कसरि तान्न सकिन्छ भनेर प्रश्न गर्नु भयो । शुक्रबार समितिले पर्यटक गन्तब्य सम्म पुग्ने सडकहरुको अवस्थाबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो।
छलफलमा सांसद इन्दु शर्माले चाबहिल जोरपाटी सडक खण्डको उदाहरण दिंदै देशको राजधानी भित्रको सडकको अवस्था यस्तो छ भने काठमाडौँ बाहिरको अवस्था के होला भनि प्रश्न गर्नु भयो।
अर्का सांसद बहादुर सिंह लामाले पर्यटक गन्तब्य सम्म कस्ताकस्ता पूर्वाधार छन् ? कसरी काम भएको छ भन्नेसम्मको जानकारी नभएको अबस्थामा पर्यटन वर्ष २०२० सफलतापुर्वक कसरी मनाउन सकिएला भनेर प्रश्न गर्नु भयो।
सांसदहरुको प्रश्न सुनी सके पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको बताउनु भयो। काठमाडौँ भित्र केहि सडकमा समस्या भए पनि काठमाडौँ बाहिर समस्या नभएको बताउनु भयो।
सांसदहरुले समितिमा लमजुङ्ग बेसीशहर चामे सडक, बेनी मुस्तांग सडक, सुर्खेत अछाम रामारोशन सडक, कर्णाली राजमार्ग, कोदारी राजमार्ग, रसुवा स्याफ्रु सडक लगायतको सडकको अवस्था यातायात संचालन गर्न नसकिने भएको गुनासो गर्नु भएको थियो ।