सीता शर्मा
काठमाडौं, १९ भदौ । गणतन्त्रको आडमा झन्डै दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले वर्तमान व्यवस्थालाई लिएर ढुक्क भएर बस्न सकिरहेका छैनन् ।
त्यसमा पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल त झन पछिल्लो केहिदिन यता धेरै जसो सार्वजनीक कार्यक्रममा बर्तमान व्यवस्था संकटमा पर्न थालेको बताउँदै आएका छन् ।
राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्न संघर्ष गरेका सत्तारुढ दल नै अहिले यो व्यवस्थाप्रति ढुक्क बन्न नसकेर त्रसीत मानसीकतामा देखिएका छन् भन्ने विषय राजनीतिक बृतमा चर्चाको विषय बनेको छ ।
गएको साउन २० गते सिन्धुलीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द शाहलाई नागार्जुनबाट हटाउने आक्रामक अभिव्यक्ति दिनु भयो ।
त्यस्तै भदौ ५ गते ललितपुरमा भएको कार्यक्रममा पनि बर्तमान व्यवस्था उल्टाउन विभिन्न शक्ति लागेको प्रसंग जोड्नु भयो । केहिदिन प्रचण्डले सार्वजनीक कार्यक्रममा गणतान्त्रीक व्यवस्था संकटमा पर्न थालेको भन्दै अभिव्यक्ति दिदै आउनु भएको छ ।
नेपालमा गणतन्त्र ल्याउनका लागि मुख्य भुमिकामा देखिएका प्रचण्ड गणतन्त्र संस्थागत भएको ११ वर्षपछी आएर किन यति हतास मानसीकतामा देखिनु हुन्छ, यसमा सबैको चाँसो बढीरहेको छ ।
पटक पटक प्रचण्डको यस्तो अभिव्यक्ति आउनुले के साँच्चै नेपालको गणतान्त्रीक व्यवस्था माथि आक्रमण भएर फेरी राजसंस्था फर्काउने गतिविधि त भएको छैन भन्ने प्रश्न उब्जाएको छ ।
तर यता प्रतिपक्षी दल नेपाली कांग्रेस भने आफ्नो असक्षमता लुकाउन सत्तारुढ दलका नेता व्यवस्था माथि आक्रमण भन्न थालेको बताउने गरेको छ ।
गणतन्त्र, संघियता, धर्मनिरपेक्षता जस्ता मुद्दा बोकेर जनयुद्धमा लागेका पूर्वमाओवादी नेता प्रचण्ड नै गणतान्त्रीक नेपालको पहिलो प्रधानमन्त्री बन्नु भयो । तर अहिले उहाँ नै यो व्यवस्थालाई संस्थागत गर्नेतर्फ लाग्नुभन्दा पनि यसलाई नै अस्थीरता तिर लाने खालको अभिव्यक्ति दिंदै हिड्नुलाई सामान्य मान्न सकिन्न ।
राजनीतिका जानकारहरु भने नेपालको गणतन्त्र विदेशीको उपहार भएको र प्राप्त उपलब्धीलाई समेत बर्तमान राजनीतिक दलले संस्थागत गर्न नसकिरहेको अवस्थामा फेरी तिनै विदेशी शक्तिले गणतन्त्र हत्याउने हो की भन्ने कमजोर मनस्थीतिमा पुगेको बताउने गरेका छन् ।
अहिले भारतको खुफिया संस्था रअका पूर्व विशेष निर्देशक रहेका अमर भुषणको पुस्तकलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमहरुले नेपालमा भारतीय खुफिया संस्था रअको चाहनामा मात्र गणतन्त्र आएको उल्लेख गरेका छन् ।
जसमा नेपालमा राजसंस्था फाली गणतन्त्र ल्याउन रअले पूर्वमाओवादी नेता पुष्पकमल दाहाललाई साथमा लिएको र रअकै इशारामा प्रचण्ड गणतन्त्रको वकालतमा लागेको बताइएको छ ।
त्यस्तै सन् २००२ जुन २ मा पूर्वमाओवादीका प्रमुख २ नेताहरुले आफुहरुलाई राजनीतिक शक्तिका रुपमा स्थापीत गराउनका लागी भारतसंग लिखित सम्झौता गरेका थिए ।
तर त्यसमा कस्तो खालको सहमती थियो त्यो बाहिरीएको छैन । त्यसमा भएको सम्झौताले पनि अहिले प्रचण्डलाई त्रसाएको हुन सक्ने अनुमान गरीएको छ ।
अहिले अमर भुषणको पुस्तकमा लेखिएको विषय भारतिय सञ्चार माध्यमबाट बाहिरीएपछी यसले नेपाली राजनीतिमा एक खालको तरंग पैदा गराएको छ ।
राप्रपा अध्यक्ष कलम थापाले त भारतिय खुफिया एजेन्सीको योजना बमोजिम मुलुकको पूर्व प्रधानमन्त्री र भविष्यमा पनि प्रधानमन्त्री हुन सक्ने सम्मानित व्यक्तिलाई प्रयोग गरिएको भन्ने विषय अन्त्यन्त गम्भीर र संवेदनशील भएको हुँदा संसदले छानबिन समिति गठन गर्न नै माग गर्नु भयो ।
केहिसमय यता नेपालको राजनीतिमा नयाँ परिस्थीति देखिएको छ । नेपालमा भारतिय खुफिया एजेन्सी रअको बढ्दो गतिविधी, सत्तारुढ दलका नेताहरुबाट देखिएको व्यवस्थाप्रतिको चिन्ता, साथै नेकपा नेताहरुको लगातारको विदेश यात्राले अनेकौ शंका उपशंका बढाएका छन् । जसले नेपालको राजनीतिमा ठुलै परीवर्तन ल्याउने हो कि भन्ने आँकलन गर्न प्रशस्त स्थान दिएको छ ।