काठमाडौं, २४ भदौ । यातायात व्यवसायी भदौ २७ गतेबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका छन् । यात्रुका सामान सवारी साधनको छतमा राख्न पाउनुपर्ने माग पुरा भएपछि व्यसवसायी २७ गते मंगलबारदेखि अग्रिम बुकिङ खोल्न सहमत भएका हुन् ।
यातायात व्यवस्था विभागमा आज बसेको सराेकारवालाको बैठकले टिकट बुकिङ खोल्ने सहमति गरेको हो । बडा दशैको अवसरमा यात्रुहरुलाई सहज यात्राको अवसर जुटाउनका लागि सरोकारित निकायका प्रतिनिधि सहितको बैठकले यसअघि भदौ २२ गते देखि टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
तर सहमति विपरित बस व्यवसायीले टिकट बुकिङ नखुलाएपछि यातायात व्यवस्था विभागले टिकट बुकिङ नखोल्ने व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिँदै आएको थियो ।
पुर्व सहमति विपरित टिकट बुकिङ नखुलाएर भाडामा बार्गेनिङ गर्ने काम गरे त्यस्ता सवारी संचालकलाई कारवाही गरिने व्यवस्था विभागले चेतावनी दिएपछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न बाध्य भएका हुन् ।