टीका खतिवडा
इलाम, १३ भदाै । बृहत खानेपानी आयोजना सम्पन्न भइसक्दा इलाममा २४ घण्टा नै पानी आउने विश्वास गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौताममा सञ्चालन भएको आयोजनाको काम तीब्ररुपमा सञ्चालन भइरहेको हो ।
आयोजनाको १९ प्रतिशत भन्दा वढि काम सम्पन्न भएको छ । हालसम्म कार्यालय ब्यवस्थापन, पाइप खरिद, माटो परिक्षण, कर्मचारी ब्यवस्थापन सम्पन्न भएको हो । आयोजनाका प्रमुख इञ्जिनियर मेघराज धिमालले लक्ष्य भन्दा चांडै नै काम सकिने जानकारी दिनु भयो
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपयामा खानेपानी आयोजनाको ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।
गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । समपन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्हार गर्नेछ । खानेपानी ल्याउनका लागि यस अगाडी नै प्रति घरधुरी १५ हजार २०० का दरले रकम उठाइ सकिएको छ ।
आयोजना सम्पन्न भएपछि इलाम वजारमा २४ सै घण्टा पानी वितरण गरिने योजना छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा र भाँडीखोलाबाट पानी ल्याइनेछ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी ल्याइनेछ ।
इलाम वजारको गडिथुम्का, गुम्बाडाँडा, शिखर नगर, क्याम्पस र तिल्केनीमा ट्यांकी राखेर पानी वितरण गरिने छ । आयोजना निर्माण भएपछि इलाम बजारका ४ हजार १ सय घरधुरी लाभान्वित हुनेछन् ।