काठमाडौं, ७ भदौ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई ‘ल्यापटप कम्प्युटर’ खरिदका लागि अर्थ मन्त्रालयले तत्काल बजेट नदिने भएपछि संसद् सचिवालयमा ल्यापटप खरिद प्रक्रिया रोकिएको छ।
सांसदको विरोधबीच संसद् सचिवालयले बोलपत्रको प्रक्रिया अघि बढाई साउनको दोस्रो साता अर्थ मन्त्रालयमा रकम निकासा गरिदिन पत्र पठाएको थियो। तर अर्थ मन्त्रालयले चालू खर्च शीर्षकमा सामान खरिदका लागि बजेट नभएको, संसद् सचिवालयले पुँजीगत खर्चको कुनै शीर्षकको रकमबाट बजेट रकमान्तर गरी ल्यापटप खरिद गर्न आग्रह गर्दै साउनको अन्तिम साता पत्र पठाएको थियो।
‘संसद् सचिवालयमा विभिन्न शीर्षकमा छुट्ट्याइएको रकम सो शीर्षकमै खर्चका लागि रकमान्तर गर्न सकिने अवस्था नभएकाले सचिवालयले ल्यापटप खरिद प्रक्रिया रोकेको छ,’ संसद् सचिवालयका एक अधिकारीले बताए।
अर्थ मन्त्रालयबाट रकम नआएपछि ल्यापटप खरिदका लागि स्वीकृति पाएको ललितपुरको काष्ठमण्डप एसिया इन्टरनेसनलसँग सचिवालयले सम्झौता गर्न सकेको छैन। सम्झौता नगरेपछि उसले एक महिना पनि ढिला भए आफूले प्रस्ताव गरेको दर रेटमा ल्यापटप खरिद गर्न नसक्ने बताएको छ।
समयमै खरिद गर्न सकिएन भने सामानको मूल्यवृद्धि हुने भएकाले खरिदमा ढिलाइ भए सो कम्पनीले बोलपत्र रद्द प्रस्ताव गर्ने चेतावनी दिएको स्रोतको भनाइ छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।