प्राकृतिक विपदको दीर्घकालीन समाधानमा सरकारको ध्यान पुगेन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

प्राकृतिक विपदको दीर्घकालीन समाधानमा सरकारको ध्यान पुगेन : प्रचण्ड

जनकपुरधाम, ३ भदौ । प्राकृतिक विपदको दीर्घकालीन समाधानमा सरकारको ध्यान जान नसकेको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।

देशमा विभिन्न प्राकृतिक विपद आउँदा तत्कालीन राहत उद्धारको व्यवस्था मात्र सरकारले गर्ने गरेकोले समस्याको दीर्घकालीन समाधान खोज्नु आवश्यक रहेको उहाँको भनाइ छ । मंगलबार जनकपुरधाममा विपद व्यवस्थापन समितिले आयोजना गरेको बैठकमा पुष्प कमल दाहालले यस्तो भन्नु भएको हो ।

खास गरेर असार महिनाको अन्तिम तिर आएको वर्षा तथा बाढीको कारण प्रदेश २ मा सबैभन्दा बढी क्षति भएकाले यस क्षेत्रका प्रभावित व्यक्तिहरुको लागि विशेष प्याकेज लिएर प्रधानमन्त्री ओलीसँग चाँडै प्रदेश २ मा आउने उहाँले बताउनु भयो ।

प्रदेश २ मा सिँचाईको लागि विशेष ध्यान दिन आवश्यक रहेको भन्दै उहाँले सुनकोसी–कमला डाईभर्सन निर्माण भएपछि सिँगो नेपाल नै यसबाट लाभान्वित हुने बताउनु भयो । प्रदेश २ को समृद्धि सँग देशको समृद्धि जोडिएकोले यस क्षेत्रमा आफूहरुको ध्यान केन्द्रित रहेको पनि उहाँको भनाई छ ।

यस्तै नेकपामा बरिष्ठ नेता माधव कुमार नेपालले विपद् परेको समयमा राजनीति नगर्न सुझाउनु भयो । भारतसँग सीमा जोडिएका क्षेत्रमा बाढीका कारण बढी क्षति हुने गरेकोले भारत सरकारसँग समन्वय गरी समाधान खोजिनु पर्ने बताउनु भयो । बाढीका कारण धनुषामा १३ जनाको ज्यान गएको थियो भने धेरै मानिस बिस्थापित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनु भयो ।