काठमाडौं, २६ साउन । राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा सांसदहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीता, सडक विस्तारमा भईरहेको ढिलाई तथा मध्यवर्ती क्षेत्रका बासिन्दाको सुरक्षा लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद उदया शर्मा पौडेलले राष्ट्रसेवक कर्मचारीका विषयमा नकारात्मक कुराहरु आईरहेको भन्दै कर्मचारीको मनोबल गिराउने काम नगर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विन्दा देवी आले मगरले प्रधानामन्त्री रोजगार कार्यक्रमका नाममा राज्यकोषको रकम कनिका छरेर सक्ने काम भएको टिप्पणी गर्नुभयो ।
त्यसैगरी सांसद अनिता देवकोटाले रुकुम,रोल्पा सल्यान, प्युठान दाङको सडक सञ्जालमा रहेको बबई देखि तुल्सीपुर सम्मको सडक सम्झौता भएको ६ महिना पुग्दा सम्म पनि कार्य प्रारम्भ नभएकाले तत्काल निर्माण कार्य प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राम नारायण विडारीले मध्यवर्ती क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभुति दिन सरकारसंग माग गर्नुभयो ।