एजेन्सी, २६ साउन । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छिन । राहुल गान्धीले लोकसभा निर्वाचनमा पराजयको जिम्मेवारी लिँदै राजीनामा दिएपछि कंग्रेस नेतृत्व बिहिन रहँदै आएको थियो ।
राहुलले अब कांग्रेसकको नेतृत्व गैर गान्धी परिवारबाट हुनुपर्ने बताइरहँदा उनकी आमा नै अन्तरिम अध्यक्ष बनेकी हुन् । कांग्रेसको कार्य समिति बैठकमा राहुल गान्धीलाई नै अध्यक्ष रहिरहन वा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बन्न प्रस्ताव गरिएको थियो ।
राहुलले कार्य समितिको प्रस्ताव अस्वीकार गरेका थिए भने सोनिया अन्तरिम अध्यक्ष बन्न तयार भएकी हुन्। यससँगै राहुल गान्धीको राजीनामा स्वीकृत गरिएको छ।
सोनियाले निर्वाचन मार्फत कांगेसबाट नयाँ अध्यक्ष निर्वाचित नभएसम्म सो पद सम्हाल्ने बताइएको छ। तर, निर्वाचनका लागि अझै एक वर्ष बांकी रहेकाले सोनियाले एक वर्ष कांग्रेसको नेतृत्व गर्ने पक्का भएको छ ।
सोनियाले दुई बर्ष अघि मात्रै अध्यक्ष पद त्याग गरेकी थिइन् । सोनिया फेरि कांग्रेस अध्यक्ष भएपछि विपक्षीहरुले कांग्रेस गान्धी परिवारवादबाट कहिल्यै बाहिर आउन नसक्ने टिप्पणी गरेका छन ।