एजेन्सी, २२ साउन । चीनले हङ्कङका प्रदर्शनकारीहरूलाई आगोसंग नखेल्न भन्दै कडा चेतावनी दिएको छ । हङ्कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीहरूलाई केन्द्रिय सरकारको संयमतालाई कम नआँक्न चेतावनी दिएको हो ।
हङ्कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन् । चीनले आगोसँग खेल्ने प्रयासले आफैँलाई जलाउने भन्दै कडा अभिव्यक्ति दिएको छ । हड्तालको कारण हङ्कङमा दुई सय उडानहरू रद्द भएका थिए ।
प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानबिन, प्रजातान्त्रिक सुधार र नेता क्यारी लामको राजीनामाको माग गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीहरूसँग मुठभेड भएका र त्यसले हङ्कङका बासिन्दाहरूका लागि स्वतन्त्रताको महत्व दर्शाउँदै बेइजिङको लागि चुनौती खडा गरेको बताइएको छ ।
कट्टरपन्थी प्रदर्शनहरूले हङ्कङलाई धेरै खतरनाक अवस्थाको नजिक पु-याएको हङ्कङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुयाङले बताएका छन् । उनले लामलाई राजीनामा गराउने प्रयासले कहिँ नपु-याउने भन्दै प्रदर्शनले हङ्कङको अर्थतन्त्रमा गम्भीर असर पु-याएको बताएका छन् ।