काठमाडौं, १८ साउन । मुलुकमा सञ्चालित ११ विश्वविद्यालयमध्ये सातवटामा उपकुलपति, रेक्टर र रजिष्ट्रारलगायत पद भदौ ५ देखि असोज ५ गतेभित्र खाली हुँदैछन्। साउन ५ देखि त्रिवि सेवा आयोगका अध्यक्षको पद खाली भइसकेको छ।
पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकुलपति बन्न राजनीतिक पार्टीनिकट भातृसंगठनआबद्ध प्राध्यापकहरूले शक्तिकेन्द्र धाउँदै उपकुलपति कसलाई बनाउने भन्नेबारे लबिङ थालेका छन्। विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनभन्दा पनि पार्टी र नेताहरूलाई कसले कति धेरै आर्थिक सहयोग गर्न सक्छ उसलाई नै विश्वविद्यालयको उपकुलति बनाउन विश्वविद्यालयका शिक्षक नेताहरू कुम्लो बोकेरै मैदानमा दौडिरहेको देख्दा विश्वविद्यालयका प्राध्यापकहरू नै क्षुब्ध बनेका छन्।
त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृति विश्वविद्यालय, पोखरा विश्वविद्यालयका, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू खाली हुने क्रममा छन्। हाल दलनिकट प्राध्यापक संगठनहरू उपकुलपतिको सिफारिसका लागि नाम लिस्ट नै बोकेर शीर्ष नेताहरूको दैलो चहारिरहेका छन्।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।