विराटनगर, १६ साउन । यस क्षेत्रमा कार्यरत तथा अध्ययनरत भारतीयहरूको रजिष्ट्रेसनका लागि भारतीय राजदूतावास, काठमाडौंसँग समन्वय गरी मोरङ व्यापार संघले आयोजना गरेको रजिष्ट्रेसन क्याम्पमा २ हजार भारतीय नागरिकले दर्ता गराई प्रमाणपत्र लिएका छन् ।
तीनदिने रजिष्ट्रेसन क्याम्पमा लगभग २ हजार ५ सय भारतीय नागरिकहरूको आवेदन परे पनि अन्तिम दिन मंगलबार अत्याधिक चापका कारण कतिपयको आवेदन संकलन गरी भारतीय राजदूतावासलाई बुझाइएको छ भने कतिपयको कागजात अपूर्ण भएको एवं प्रक्रिया नपुगेकाले दर्ता हुन सकेनन् ।
यस क्षेत्रमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरूलाई सहज र सरल हुने गरी मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको पहलमा रजिष्ट्रेसन क्याम्पको आयोजना गरिएको थियो ।
यसअघि मोरङ व्यापार संघकै पहलमा गत २०७५ पुसमा आयोजित एकदिने क्याम्पमा यहाँ कार्यरतर तथा अध्ययनरत करिब सय भारतीय नागरिकहरूले दर्ता प्रमाणपत्र प्राप्त गरेका थिए । भारतीय चुनाव परिचयपत्र÷पासपोर्ट÷रासन कार्ड÷मूल स्थायी निवास प्रमाणपत्र भएकालाई प्रमाणपत्र दिइएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।