काठमाडौं, ८ असार । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू-माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गर्नुभएको छ ।
आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू-माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाएको खुलासा गर्नुभएको हो ।
मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाउनु भएन । उहाँले भू-माफियाहरु सहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरीदिनु भन्दै आफु समक्ष आएको बताउनुभयो ।
मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको पनि बताउनुभयो । उहाँले मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताउनुभयो ।