एजेन्सी, ७ असार । इरानसँगको प्रतिकारका लागि अमेरिकी सेना तयारी अवस्थामा रहेको र बन्दुक लोड भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । बन्दुकहरु प्रतिकारका लागि निशाना तर्फ सोझिएको ट्रम्पले बताएका हुन् ।
अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको थियो । तर आक्रमण सुरु हुनु भन्दा १० मिनेट पूर्व त्यसलाई रोकिएको ट्रम्पले बताएका छन् ।प्रतिकार गर्ने भनिएका क्षेत्रमा सर्वसाधारण नागरिक रहेको र १५० जनाको ज्यान जान सक्ने बताइएकाले प्रतिकार रोकिएको ट्रम्पको भनाई छ ।
इरानी सेनाले अमेरिकी गुप्तचर ड्रोन आक्रमण गरी खसालेपछि अमेरिकाले त्यसको प्रतिकार गर्ने तयारी गरेको थियो । अझै पनि अमेरिकी सेना तयारी अवस्थामा बन्दुक लोड गरेर बसेको ट्रम्पले बताएका छन् । इरानले खसालिएको अमेरिकी ड्रोनको भग्नावशेष सार्वजनिक गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरेर तयारी अवस्थामा रहेको आक्रमण रोकिएको जनाएका हुन् । अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।
गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै अमेरिकाले थप सेना तैनाथ गरेको हो । इरानले भने आरोप अस्वीकार गर्दै आएको छ ।