काठमाडौं, २७ जेठ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) र मरिसससँग यही जेठ महिनाभित्र श्रम समझदारी (एमओयू) गर्नेभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मरिसससँग यही जेठ २८ गते र यूएईसँग यही ३१ गते श्रम समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा दुई देशसँग श्रम समझदारी हुन लागेको हो । स्वीजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन पुग्ने यूएई र मरिससका सम्बन्धित मन्त्रीसँग समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।
नेपालको तर्फबाट श्रममन्त्री गोकर्ण विष्ट र यूएईका मानव संसाधनमन्त्री नासेर थानी अलहम्लीबीच पनि द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने छ । यस्तै मन्त्री विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस. क्यालीचर्नबीच समझदारीपत्रमा हस्ताक्षर हुने छ । श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले दुई देशका प्राविधिक टोलीबीच छलफल गरेर तयार गरिएको अन्तिम मस्यौदा आ–आफ्नो देशको मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै दुई देशबीच सम्झौता गर्न लागिएको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।