किशोर थापा
कञ्चनपुर, ४ जेठ । कञ्चनपुरको पूनर्वास नगरपालिका वडा नम्बर ९ मा रहेको नेपालको प्यारानालताल भारतीय अतिक्रमणमा परेको छ । नेपाल भारत सीमास्तम्भ भन्दा करिब पाँच सय मिटर वर नेपाल तर्फ हुँदापनि भारतले गुण्डागर्दी शैलीमा तालमा आफ्नो अधिकार जमाउँदै आएको हो ।
प्राकृतिक रुपमा महत्वपुर्ण कञ्चनपुर पूनर्वास नगरपालिकामा रहेको प्यारानाल तालमा भारतीय पक्षको अतिक्रमणमा रोकिएको छैन । ताल माथि आफ्नो अधिकार जमाउनका लागि भारतीय पक्षले सीमास्तम्भ भाँचेर फालेका छन् । सीमा स्तम्भ नम्बर १ सय ९५ भन्दा वर पाँच सय मिटर नेपाल तर्फ ताल हुँदा पनि भारतीयहरुले स्तम्भ नै भाँचेर तालको अतिक्रमणमा गरेको स्थानीयहरुको भनाई छ ।
नेपाल भारत सिमानामा भारततर्फ भारतको दुधुवा नेशनल पार्क रहेको छ । पार्क भित्रका बन्यजन्तुका लागि पानीको अभाव छ । भारतको यो दुधवा नेशनल पार्कले बन्यजन्तुका लागि पानीको व्यवस्था गर्न सकेको छैन । त्यसकारण पनि नेपालतर्फ रहेको यो प्यारानाल ताल भारतले कब्जा गरे आफ्ना बन्यजन्तुहरुलाई पानीको सहजता हुने थियो भनेर भारत प्यारानाल ताल कब्जा गर्ने योजनामा रहेको छ ।
विक्रम सम्बत् २०२२ देखि जिल्ला विकास समिति कञ्चनपुरले यो तालमा माछा पाल्न ठेक्का दिदै आइरहेको थियो । तर २०३५ साल यता भारतले पनि यो तालमा आफ्नो दाबी गरी विवाद गर्दै आइरहेको छ । नेपालको सरकारी निकायले माछा पाल्नका लागि ठेक्का लगाएको हुँदा पनि माछा पालेर भएको आम्दानी आधा भारतीयलाई दिनुपर्छ ।
यसअघि २०६१ सालमा त ताल भन्दा पनि अगाडी बढेर भारतीयले नेपाली भूमिमा सीमास्तम्भ गाडेका थिए । तर, नेपालीहरुले त्यसको चर्काे विरोध गरी आन्दोलन गरेपछि ती स्तभ्भहरु भारतले हटाएको थियो।
पूर्नवास नगरपालिकामा रहेको यो तालमा भारतीयले दादागिरी शैलीमा कब्जा गर्न खोज्दा पनि नेपाली प्रशासन भने देखे नदेखे जस्तो गरी बसिरहेको छ । सरकारी पक्षको बेवास्थाका कारण नेपाली प्राकृतिक स्रोत माथि भारतीयको गिद्धे नजरबाट बचाउन स्थानीयहरुलाई निकै चुनौती बनेको छ ।