काठमाडौं, २३ बैशाख । सरकारको नीति तथा कार्यक्रममा संसदमा छलफल सुरु भएको छ । छलफलको सुरुवातमा सरकारको नीति तथा कार्यक्रममा भन्दा धेरै राष्ट्रपतिले मेरो सरकार भनेर गरेको संबोधनका विषयमा प्रश्न उठेको छ । नेकपाकै सांसदहरुले भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा हुने गरे पनि बालुवाटार देखि सिंहदरबारसम्म भ्रष्टाचारले गाँझेको भन्दै सुशासनमा प्रश्न उठाएका छन् ।
सरकारका तर्फ बाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ । छलफलमा सरकारको नीति तथा कार्यक्रममा भएका कमिकमजोरी तथा राम्रा पक्षमा सांसदहरुबीच बहस जारी छ । तर, नीति तथा कार्यक्रमका सवाल तथा दुर्वल पक्षमाथिको बहस भन्दा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको मेरो सरकार शव्दले चर्चा पाएको छ । छलफलको सुरुवातमै भाग लिदै राष्ट्रपतिको संबोधनले गणतन्त्र भन्दा अघिको राजतन्त्र कालको स्मरण गराएको टिप्पणी गरेका छन् । देउवाले राष्ट्रपतिको संबोधनले बेलायतकी महारानीको झझल्को दिएको भन्दै नेपालमा गणतन्त्र छ भन्ने विषयमा हेक्का राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले त पटक पटक शासकहरुले कमजोरी गरेकै कारण संविधान असफल भएको स्मरण गराउँदै सरकारको योजना र राष्ट्रपतिको संबोधनले फेरिपनि संविधान च्यात्ने पूर्वाधार सरकारले नै बनाउन लागेको भन्दै संका व्यक्त गरेका छन् । उनले संविधानका विषयमा उठेका प्रश्नको संबोधन गर्न सरकार तयार नहुनु र सामन्ती युगकै झल्को दिनुको संयोग के हो भन्दै प्रश्न समेत उठाएका छन् ।
संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले त राष्ट्रपति भनेको परिवर्तन पछि जनताको प्रतिनिधि संस्था भएको समेत सरकारलाई ज्ञान नभएको भन्दै प्रश्न उठाएका छन् । उनले राष्ट्रपति भनेको सामन्ती युगकको महारानी होइन भन्दै नयाँ युगलाई स्वीकार नगर्नेले मेरो सरकार भनेर संबोधन लेखिदिएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले त यस सरकार तथा नेपाल सरकार प्रयोग गर्ने विगतको अभ्यास समेत कुल्चिएर सरकारले मेरो सरकार भन्ने संबोधन तयार पारेको तथा बेलायत र कमनवेल्थ राष्ट्रहरुको उदाहरण दिएर गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास गरेको बताएका छन् । उनले गणतन्त्रको रक्षामा समेत सरकारको प्रस्तुतीले ढुक्क हुने अवस्था नदेखिएको गम्भीर आरोप समेत लगाएका छन् ।
कुनै पनि शव्दको अर्थ परिस्थिति अनुसार पनि लाग्न सक्छ । बेलायत वा भारतमा मेरो सरकार भन्ने उदाहरण गलत भएपनि राजतन्त्रमा मेरो सरकार भनिने कुरालाई नेपालीले विर्सेका छैनन् । भारतकै उदाहरण हेर्ने हो भने स्थानीय तहलाई अहिलेपनि पञ्चायत भनेर संबोधन हुन्छ जवकी हाम्रोमा पञ्चायत भन्दा त्यसले दलीय व्यवस्था स्वीकार नगर्ने अधिनायकवादी समयको झल्को दिन्छ । त्यसैले प्रधानमन्त्रीले भारत वा बेलायतको उदाहरण दिनुभन्दा नगरिक गुनासो के कारण आएको हो भन्ने बुझेर त्यसको संबोधन गरे विवाद समाधान जहज हुन सक्छ ।