काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा शुक्रवार राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको बताउनुभएको छ ।
शनिबार बिहान बालुवाटारमा विभिन्न संचारमाध्यमका सम्पादकहरुसंगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्दै अन्तराष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तराष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकारभनेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै चौतर्फी विरोध भएको थियो ।