भूकम्पपीडित अझै पाखामा : सरकार भन्छ, सबतिर काम हुँदैछ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भूकम्पपीडित अझै पाखामा : सरकार भन्छ, सबतिर काम हुँदैछ

bhukampa

काठमाडौं, ३० चैत । बुङमतीका ६८ वर्षीय हरिगोविन्द महर्जनको घर दुई पैसामा बनेको थियो। ०७२ को भूकम्पले ढल्यो। छोराबुहारी, २ नातिका साथ टहरोमा बसेको ३ वर्ष पुग्यो। सम्पदा बस्तीमा सरकारले लगाएको मापदण्डका कारण घरबाहिर रहनुपरेको उनले गुनासो गरे। ‘मजस्ता पीडित धेरै छन्, मापदण्डकै भर पर्ने हो भने कसैको घर बन्दैन’, उनले भने, ‘सरकारले दिएको पैसा जग हाल्न पनि पुग्दैन।’ मापदण्ड घाँडो बनेको महर्जनको भनाइ छ।

बुङमती गणेश मन्दिर छेवैका न्युछेमान तुलाधरको समस्या पनि उस्तै छ। सिकर्मीका रूपमा गुजारा गर्दै आएका उनको एक पैसा जग्गामा बनेको घर जगैसँग भत्केपछि टहरामा पुगे। महर्जन र तुलाधरजस्ता हजारौं पीडित अझै घरबाहिर छन्।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले सहरी क्षेत्रका सम्पदा बस्तीमा पुनर्निर्माण ढिलो भएको स्विकारे। ‘काठमाडौं, ललितपुर, भक्तपुरलगायत बस्तीमा समस्या छ’, घिमिरेले भने, ‘अर्को वर्षसम्म सबैको घर बनिसक्छ।’

उनले जग्गामा किचलो भएका, जोखिममा परेका, भूमिहीन, पहिलो किस्ता लिएर घर नबनाएका जस्ता समस्याबाहेक अन्यको यही वर्ष काम सक्ने लक्ष्य लिएको बताए। सरकारले दुई सातापहिले पुनःसर्वेक्षण थालेको छ।

पुनर्निर्माण प्राधिकरणको चैतको तथ्यांकअनुसार भूकम्पमा परेका ९ लाख ९६ हजार ५ सय ८२ पीडित थिए। त्यसमध्ये ८ लाख २४ हजार ४ सय ५२ जना वास्तविक पीडित देखिएका थिए। ६१ हजार ८ सय ९१ को रेट्रोफिटिङ गर्नुपर्ने देखिएको छ।

हालसम्म ३ लाख ८२ हजार ४३ आवास मात्रै निर्माण सम्पन्न भएका छन्। प्राधिकरणले ६ लाख १२ हजार १ सय ५२ वटा आवास बन्दै गरेको बताएको छ। तर, ठूलो संख्यामा निजी आवास बन्न सकेको पाइँदैन।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);