काठमाडौं, २३ चैत । सरकारले तयार गरेको सुरक्षा परिषद् विधेयकको आलोचना गर्ने दुईजना पूर्वसैनिक अधिकारीलाई जंगी अड्डाले नबोल्न सचेत गराउँदै पत्र काटेको छ । सुरक्षा परिषद् बैठक छलेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेर सेना परिचालन गर्ने प्रस्तावको विरोध हुँदै आएको छ । पूर्वसहायक रथीद्वय डा. प्रेमसिंह बस्न्यात र धर्म बानियाँले विधेयकको प्रावधानप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका थिए ।
रक्षा मन्त्रालयले संघीय संसद् सचिवालयमा २९ फागुनमा ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ दर्ता गरेको छ । विधेयकमा संविधानमा नभएको संकटको कल्पना गरिएको छ भने त्यो अवस्थामा विधि नाघेर प्रधानमन्त्रीले सेना परिचालनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने प्रावधान राखिएको छ । यसको विरोधमा बोलेका दुई पूर्वसहायक रथीलाई सरकार र सेनाबीच कुनै फरक मत नरहेको भन्दै सरकारको आलोचना नगर्न सचेत गराइएको छ ।
पूर्वसहायकरथी बस्न्यात भन्छन् : पूर्वसैनिक हुँ, बोलिरहन्छु
पूर्वसहायकरथी डा. प्रेमसिंह बस्न्यातले आफूलाई धेरै माध्यमबाट टर्चर भएको भन्दै कुनै दिन खुलासा गर्ने बताएका छन् । ‘म स्यालको छाउरो होइन, एउटा सिंहकै सन्तान हुँ (माफ दिनुस्, मलाई चढाएको होइन),’ बस्न्यातले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोली ठोक्नुस् झुट बोल्दिनँ । आजसम्म मैले नेपालको अखण्डता, राष्ट्रिय एकता , हिन्दूधर्म, नेपाली सेनाबारेको कुरामा के गल्ती गरेँ त ? मैले सेनाबारे कहाँनेर गल्ती बोलें ? तर, बदमासी गर्ने नेताहरूका बारेमा बोलेको थिएँ, बोलिरहनेछु ।’ आफू पूर्वसैनिक रहेको र आमनागरिकसरह संविधानले दिएको काम गर्ने छुट रहेको पनि उनको भनाइ छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।