तेह्रथुम — गुफापोखरीका हरिनारायण खनाललाई बाजे बाबुले छाडेका गोठको झलझली सम्झना आउँछ । संखुवासभाको मादीदेखि गुफा पोखरीसम्म भैंसीको लर्को खेदाउँदै हिँडेका उनी अहिले भने व्यवसायी भएका छन् ।
पुर्खौली पेसा छोडेर दोबाटोमा बसेका उनको दैनिकी घुम्न आउने पर्यटकको स्वागत सत्कारमा खटिनु रहेको छ । बिहान उठेदेखि बेलुकासम्म परिवारका सदस्यलाई सघाएर बिताउँछन् ।
आफ्नो जीवनका ७७ वर्ष गुफा बजारको बस्तीमा बिताइरहेका खनालले ५० वटासम्म भैंसीलाई घाँस कुँडो गरेका थिए । आफूले जान्दादेखि बाजेसँगै गोठमा बसेका उनी एक्लैले चार सय कुरुवा (दुई कुरुवाको एक लिटर) सम्म दूध दुहे । त्यो दूध त्यही गुफा फोखरीको बजारमा ल्याएर बिक्री गर्थे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
चार आनामा एक कुरुवादेखि बित्री गर्न थालेका उनले २० रुपैयाँ कुरुवा हुँदासम्म बिक्री गरे । गोठैमा आउनेलाई पनि खुवाउथे उनी । बिक्री नभएको दूधलाई जमाएर दही बनाउथे र मोही पार्थे । दही र घिउ पनि बिक्री गरे । गोठ पाल्न एक्लै नसकिने र छोराछोरीले चासो नदिएपछि अहिले गोठ रित्याइदिएको उनी बताउँछन् । पहिला कुरुवा गर्ने खनाल अहिले भने आफैं किन्छन् र बिक्री गर्छन् ।
‘किनेर बित्री गर्नुपर्दा जोस त आउँछ नि, बाबु उमेरले डाँडा काटिहाल्यो,’ खनालले भने, ‘पहिला गोठमा बसेर खाएकाले अहिलेसम्म शारीरिक रूपमा हट्टाकट्टा नै छु ।’ अहिले पनि मादी नगरपालिकामा खला खेत, गोठको खर्क भएका उनको काठमाडौं जोरपाटीमा घर छ । दुई छोरा र चार छोरीका पिता उनका छोरा काठमाडौंमै बस्छन् । श्रीमती, कान्छी छोरी नातिनी समेतले व्यवसाय गर्छन् । गुफाबजारमा होटल र लज छ । तर, पहिला जस्तो व्यापार नहुने उनले सुनाए ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ मोटरबाटोले नजोडिदासम्म यो बजार भएर हिँड्नेको लर्को लाग्थ्यो । बसन्तपुर हुँदै हिले र धरानबाट सामान ल्याउनेहरू योबाटो भएर दोरीलत्त हिँड्थे । अहिलेको जस्तो मादक पदार्थको सेवन त्यो बेला हुँदैनथ्यो । बियर, रम जस्ता रक्सीहरू त्यो बेला पर्याप्त थिएन । घरेलु उत्पादन जाँड, रक्सी हुन्थ्यो । मानिसहरू अलिअलि पिउथे । धेरैले दूध, दही, घिउ खान्थे । ‘तातो दूधमा चिउरा मिसाएर गमगम खान्थे र दह्रो भएर हिँड्थे,’ बिगत सम्झदै खनाल भन्छन्, ‘दूध नखानेहरू दही र घिउसँग खाएर हिँड्थे ।’ अहिले तुलनात्मक रूपमा गोरस सोध्ने कम आउने उनले बताए । २०४५र४६ सालतिर खनालले गुफामा नबस्ने निर्णय गरेका थिए ।
४५ हजार रुपैयाँमा बिक्री गरेर तराई झर्ने सोच थियो उनको । त्यो बेला इटहरीमा कम्तीमा चाररपाँच बिघा जग्गा आउथ्यो त्यो पैसाले । तर ताप्लेजुङ सदरमुकाम फुङलिङका प्रजापति काफ्ले लगायतले उनलाई नछोडिदिन आग्रह गरे । उनीहरूको त्यसमा स्वार्थ थियो ।
खनालले छोडे ताप्लेजुङका धेरै व्यापारीको बस्ने खाने ठाउँ नै हुँदैन थियो । खनालका अनुसार यतिसम्म दबाव दिए कि बरु ४५ हजार हामी दिन्छौं तर नछोडिदिनुहोस् भनेर आफन्तले भने । त्यसपछि उनले निर्णय बदले र थातथलो छोडेनन् । अहिले कहिलेकाहीं छोराकोमा जाने गरेको खनाल बताउँछन् । यातायात चल्न थालेपछि निकै राहत भएको उनले बताए ।