काठमाडौं, १७ चैत । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन,कोरीया, र अष्ट्रियाका लगानीकर्ताहरुसंग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शनिवार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीका सम्भावना र अवसरको बारेमा छलफल भएको थियो ।
मन्त्री पुनले शनिबार उर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक कम्पनीका उच्च अधिकारीहरुसंग पांच घण्टा लामो वैठक गरेका हुन् । उनले नेपालमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । मन्त्रालयले विदेशी लगानीकर्तालाई आवश्यक सहजिकरण गर्ने उनले बताए ।
शनिबारनै मन्त्री पुनसंग चाईना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले भेटवार्ता गरेका छन् । भेटमा उपाध्यक्ष वेईगाओले नेपालको प्रशारण लाईनमा लगानी गर्न आफ्नो कम्पनी ईच्छुक रहेको धारणा राखेका थिए ।