काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्कका साथ नेपालमा लगानी गर्न बिदेशी लगानी कर्तालाई आग्रह गरेका छन् ।
शुक्रवारदेखि राजधानीमा शूरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानी अनुकूल हुने गरि कानून निर्माण गरिएकाले लगानीमा कुनै जटिलता नरहेको भन्दै निर्धक्कका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । उनले मुलुकमा अहिले राजनीतिक स्थिरता भएको र स्थिर सरकार बनेको भन्दै लगानीको सुनिश्चिततामा विश्वस्त हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल प्रसस्त संभावना बोकेको देश भएकाले उर्जा, पर्यटन, कृषि लगायत क्षेत्रमा लगानी बढाउन आब्हान गरेका छन् ।
सम्मेलनमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको उल्लेख गरे । उनले दोहोरो अंकको आर्थिक वृद्धि हासिल संगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिवद्ध रहेको र सोही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउदै लगिएको स्पष्ट पारे ।
४० देशका ६ सय भन्दा बढी लगानीकर्ता सहभागी रहेको सम्मेलनमा स्वदेशी र विदेशी गरि झण्डै १ हजार लगानीकर्ताहरु सहभागी भएका छन् । सम्मेलनमा लगानी बोर्डले तयार पारेका उद्योग, पर्यटन, उर्जा, शिक्षा तथा शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रका ५० र नीजी क्षेत्रका २७ गरि ७७ वटा विषयगत परियोजनाहरु प्रस्तुत गरिने छ । विदेशी लगानी भित्र्याउने उद्देश्यसाथ सरकारले दुई दिने लगानी सम्मेलन गरेको हो । सम्मेलन शनिवार सकिनेछ ।