धनुषा, १४ चैत । जिल्ला अदालत धनुषाले ६ बर्ष अघि भएको जनकपुर बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साहसहित ७ जनालाई जन्मकैदको फैसला गरेको छ । बिहीवार जिल्ला अदालत धनुषाले साह सहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजायको फैसला गरेको हो ।
अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए । ती मुद्दाहरुमा फैसला गर्दै अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय तोकेको हो ।
जन्मकैदसहित १२ वर्ष सजाय पाउनेहरुमा पूर्वराज्यमन्त्री साह सहित भूमिगत संगठनका मुकेश चौधरी, राजन भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा छन् ।
साह ६ वर्षदेखि पुर्पक्षका लागि कारागारमा थिए। ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा बम विस्फोट गराउँदा ५ जनाको ज्यान गएको थियो भने २५ जना घाइते भएका थिए ।