काठमाडौं, १३ चैत । सरकारले क्वारेन्टाइन प्रमाणपत्रबिना खसीबोका तथा माछामासु आयातमा कडाइ गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा आयातमा कडाइ गरेको हो । क्वारेन्टाइन प्रमाणपत्रबिना खसीबोका तथा माछामासु आयात हुँदा विभिन्न रोग भित्रिन थालेपछि सरकारले माछामासु खसीबोका आयातमा कडाइ गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता तेजबहादुर सुवेदीले ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ मा भएको व्यवस्थालाई दुई सातादेखि सरकारले कडाइ थालेको बताए । प्रवक्ता सुवेदीले आयातमा कडाइ नहुँदा आयातीत पशुपन्छीबाट विभिन्न थरिका रोग भित्रिन थालेपछि कडाइ गरेको बताए । स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन सो कदम चालेको उनले बताए । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।
२०५५ मा सो व्यवस्था भए पनि उपभोगका लागि यसअघि भारतबाट खसीबोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर तथा माछामासु अवैध रूपमा आयात हुँदै आएको थियो । दुई सातादेखि सरकारले आयातमा कडाइ गरेपछि भारतबाट आयात हुने खसीबोका तथा माछामासु ठप्प भएको चौपाया खरिदबिक्री सेवा केन्द्रका पूर्वअध्यक्ष दीपक थापाले बताए । सरकारले आयातमा कडाइपछि भारतबाट खासी बोका नआए पनि राँगाभैंसी अवधै रूपमा आइरहेको उनले बताए । खुला सिमानाबाट भारतीय व्यापारीले राँगाभंैसी लखेटेर ल्याउने गरेको पाएको उनले बताए । सरकारले आयातमा कडाइ गरेपछि स्वदेशमै उत्पादित खसीबोका ल्याएर बिक्री गरिरहेको थापाले बताए ।