काठमाडौं, २३ फागुन । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन् ।
नक्सामा सात वटै प्रदेश, त्यसको सिमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ । सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको मन्त्री अर्यालले स्पष्ट पारिन् ।
उनले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा सो नक्सा सार्वजनिक गर्ने काममा ढिलाई भएको बताइन् । मन्त्री अर्यालले सो नक्सा सबभन्दा पहिला सिंहदरबारमा हस्तान्तरण गर्ने योजना रहेको बताइन् ।
त्यसपछि नेपालको प्रशासनिक नक्सालाई प्रदेश र स्थानीय तहमा पनि क्रमशः हस्तान्तरण गर्दै लैजाने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजना छ । मन्त्री अर्यालले प्रदेश स्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गरिने बताइन् ।
सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेबसाईट डिओस डट जिओभी डट एनपी मा राखिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेबसाईटमा पनि सो नक्सा राखिएकाले त्यसैलाई आधिकारिक मानेर प्रयोग गर्न पनि सम्बन्धित सबै निकायलाई आग्रह गरे । २०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो ।