काठमाडौँ, १८ फागुन । बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर) ले छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेजबीच भएको सम्झौताअनुसार छात्रवृत्तिमा पढ्ने विद्यार्थीले आन्तरिक परीक्षा शुल्क, छात्रावास, विश्वविद्यालयको रजिस्ट्रेसन, मेडिकल काउन्सिल रजिस्ट्रेसनबाहेक शुल्क तिर्नु पर्दैन ।
कान्तिपुर डेन्टलले यीबाहेकका शीर्षकमा पनि विद्यार्थीसँग रकम असुलेको छ । अहिले छात्रवृत्तिमै दन्त चिकित्सा स्नातक तह (बीडीएस) पहिलो वर्ष पढिरहेका विद्यार्थीसँग कलेजले मेडिकल चेकअप, डेन्टल मेटेरियल, विद्यार्थी कल्याण परिषद्, सामुदायिक डाइग्नोसिस प्रोग्रामजस्ता शीर्षकमा ३ लाख ४२ हजार मागिरहेको छ ।
कलेज प्रशासनले तोकेको शुल्क नतिरे कक्षामा बस्नै नदिने भनेपछि एक विद्यार्थीले हालका लागि ५० हजार रुपैयाँ तिरेर अध्ययन सुरु गरेको बताए । ‘वार्षिक ८४ हजारको दरमा पैसा तिर्नु भनेको छ, शिक्षा मन्त्रालयले त यति धेरै पैसा लाग्छ भनेको थिएन,’ ती विद्यार्थीले भने । उनीसँगै छात्रवृत्ति पाएर कलेज भर्ना भएका अन्य विद्यार्थीले भने वार्षिक ८४ हजारको दरमै कलेजलाई रकम बुझाइसकेका छन् ।
विश्वविद्यालयको सम्बन्धन लिएबापत मेडिकल कलेजले १० प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढाउनुपर्छ । विश्वविद्यालयको नियमअनुसार साढे चार वर्षको अध्ययन सकेपछि विद्यार्थीले एक वर्ष कलेजकै अस्पतालमा बिरामी जाँच्ने सेवा (इन्टर्न) गर्नुपर्छ । यसबापत काठमाडौं विश्वविद्यालयले विद्यार्थीका लागि ११ हजार न्यूनतम तलब (निर्वाहभत्ता वा स्टाइपेन्ट) समेत तोकेको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।