डडेल्धुरा, १४ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा पुगेर क्रान्तिकारी नेताले ठूला ठूला भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा सदरमुकाममा पुगेका डाक्टर भट्टराईले सत्तामा पुगेपछी हिजोका क्रान्तिकारीले आफ्नो निष्ठा, स्वच्छपन तथा आदर्श भुलेर भ्रष्टाचार गरेको आरोप लगाए ।
कांग्रेस, तत्कालिन एमाले, एमाओवादीले त्याग र बलिदान गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको उल्लेख गर्दै भट्टराईले नेताहरुले विगत बिर्सेर भ्रष्टाचारमा लिप्त भइरहेको आरोप लगाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पार्टी कर्मचारीहरु नै रहेको र देशमा धेरै भ्रष्टाचार प्रकरणहरु भएपनि ठोस कदम नचालेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि काम नलाग्ने भईसकेको भट्टराइले बताए ।
गत माघ १५ गतेबाट पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको नयाँ शक्ति पार्टीको जनसंवाद अभियान फागुन १६ गते बैतडीमा पुगेर समापन हुनेछ ।