स्थानीय चुनावः तेस्रो चरणलाई २ अर्ब माग | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

काठमाडौं, १६ भदौ । निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दुई अर्ब रुपैयाँ माग गरेका छन् । तेस्रो चरणअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो र दोस्रो चरणमा ६ प्रदेशमा स्थानीय तह चुनाव सम्पन्न भइसकेको छ।

 

असोज २ गते २ नम्बर प्रदेशका आठ जिल्लामा निर्वाचन हुने कार्यक्रम छ । सरकारले पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा वैशाख ३१ तथा दोस्रो चरणमा प्रदेश १, ५ र ७ मा असार १४ मा निर्वाचन गरेको थियो।

 

अर्थ मन्त्रालयका एक अधिकारीले सुरक्षा निकाय र निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि एक-एक अर्ब रुपैयाँ माग गरेको जानकारी दिए । ती अधिकारीका अनुसार सुरक्षा निकायअन्तर्गत सेनाले करिब आठ करोड र गृहले ९२ करोड रुपैयाँ मागेका छन् ।

 

‘चुनावको मौकामा सुरक्षा निकायले सधैं धेरै बजेट माग्छन्’, ती अधिकारीले भने, ‘पहिले पनि स्थानीय तहका लागि ३१ अर्ब रुपैयाँ मागिएको थियो। अर्थले ११ अर्ब रुपैयाँ मात्र निकासा दिएको थियो।’ ती अधिकारीले तेस्रो चरण निर्वाचनका लागि सुरक्षा निकायलाई एक अर्ब रुपैयाँ बजेट आवश्यक नभएको बताए।  आजको नागरिक दैनिकले खबर छापेको छ।