काठमाडौं, १५ भदौ । नेपाल धितोपत्र बोर्डले संघीय ढाँचा अनुसारको कार्यालय संचालनमा ल्याउने भएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले संघीय ढाँचा अनुसारको कार्यालय खोल्ने योजना बनाइएको बताए । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले धितोपत्र बजारको नियमनको कामलाई कडाई गर्ने नीति तथा कार्यक्रम बनाइएको बताए ।
बोर्डले अव बजार सुधारका लागि धितोपत्र दलाल कम्पनीको चुक्ता पूँजी आगामी पुस मसान्त भित्र २ करोड हुनुपर्ने, चार्टर्ड एकाउन्टेन्ट कार्यालय प्रमुख हुनपर्ने लगायतका बजार सुधारका विभिन्न नीतिगत निर्णय पनि लिएको छ ।
बोर्डले धितोपत्र दलाल कम्पनीको कारोबार कक्ष र डिस्प्ले कक्षा छुट्टाछुट्टै हुनुपर्ने नीतिगत व्यवस्था पनि गरेको छ । अध्यक्ष कार्कीले धितोपत्र बजार सुधारका लागि निर्देशिका नै तयार पारेर काम अघि बढाउनु परेको पनि स्मरण गरे ।