काठमाडौं, ७ फागुन । देशका अधिकांश होटेल तथा रिसोर्ट प्रारम्भिक वातावणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को मापदण्डभित्र आउन थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार अहिले बन्द अवस्थामा रहेका नयाँबानेश्वरको होटेल एभरेष्ट र फूलबारी रिसोर्ट, पोखराबाहेक सबै पाँचतारे होटेल वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मापदण्ड पूरा गर्ने प्रक्रियामा छन् ।
नयाँ खुल्ने सबै होटेल वातावरणीय मापदण्डभित्र समेटिएको र नवीकरणका लागि आउने होटेलका लागि पनि मापदण्ड अनिवार्य गरिएको विभागका महानिर्देशक दण्डुराज घिमिरेले जानकारी दिए । ‘कानुनअनुसार वातावरणको मापदण्डभित्र नआएको होटेललाई सरकारका तर्फबाट दिइने सबै प्रकारको सेवासुविधा बन्द गरिएको छ,’ उनले भने, ‘नवीकरणका लागि आउने सबै होटेल अब कानुनी प्रक्रियामा आइसकेका छन् ।’ वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ बमोजिम आइइई र इआइए नगरी होटेल सञ्चालनमा ल्याउन पाइँदैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।