काठमाडौं, १ फागुन । नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाइएको हो। यस्ता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरूलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ’, स्रोतले भन्यो।
अंगरक्षक खोसिनेमा पूर्वमन्त्री गोविन्दराज जोशी, अमरेश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्वआइजिपीहरु हेम गुरुङ, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन्। त्यस्तै पतञ्जली योगका नेपाल प्रतिनिधि शालिकराम शर्माका अंगरक्षकलाई पनि फिर्ता बोलाइएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा ‘आवश्यक परे वा सुरक्षा थ्रेट’ देखिए भन्ने वाक्यांशलाई दुरुपयोग गरी अनावश्यक रूपमा अंगरक्षक राख्ने परम्परा तोड्दै प्रहरी प्रधान कार्यालयले अंगरक्षक फिर्ता गर्न थालेको हो। त्यस क्रममा ११ पूर्वएआइजीको घरबाट २७ जना, २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट ३७ अंगरक्षक फिर्ता गरिएको छ ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।