काठमाडौं, २८ माघ । सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराए ।
उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पनालाई साकार पार्न सरकारले सबै नागरिकलाई रोजगारीको न्यूनतम व्यवस्था गर्न पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए ।
सरकारले ल्याउन लागेको उक्त कार्यक्रममा बेरोजगार भत्ता र निर्वाह भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । मन्त्री विष्टले बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यवसायिक तथा सीप विकास तालिम दिने व्यवस्था कार्यक्रममार्फत गर्ने स्पष्ट पारे ।
उनले उक्त कार्यक्रम लागू गर्न देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने पनि जानकारी दिए । सरकारले दिगो आर्थिक विकासका लागि काम र रोजगारीलाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न लागेको जनाएको छ ।