फागुन मसान्तसम्म माग पुरा नभए चैत्र १ गतेदेखि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका समन्वय समितिका सदस्यहरुले सामुहिक राजीनामा दिने
श्रवण देउवा
कैलाली, १३ माघ । सुदूरपश्चिम प्रदेशका जिल्ला समन्वय समितिका सदस्यहरुले आफुहरुको मर्यादाक्रम र भूमिका स्पस्ट नभएको भन्दै आन्दोलित भएका छन् । ९ वटै जिल्लाका समन्वय समितीका सदस्यहरु आईतवार धनगढीमा जम्मा भई केन्द्र र प्रदेश सरकार विरुद्ध आन्दोलित भएका हुन् ।
उनीहरुले आफुहरु दुई पटक निर्वाचित भई जनप्रतिनीधि भएपनि केन्द्र र प्रदेश सरकारले वेवास्ता गरेको आरोप लगाए । जिल्ला समन्वय समितिका सदस्यहरुले आफुहरुको हक र अधिकारका बिषयमा पटक–पटक सरकारको ध्यानआकर्षण गराउँदा पनि सुनुवाई नभएकाले बाध्य भएर आन्दोलित हुनु परेको समेत गुनासो गरे ।
उनीहरुले फागुन मसान्तसम्ममा पनि मर्यादा क्रम र काम कारर्बाहीबारे स्पष्ट नभए चैत्र १ गतेदेखि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका समन्वय समितिका सदस्यहरुले सामुहिक राजीनामा दिने समेत चेतावनी दिएका छन् ।
आन्दोलनमा बैतडी, दार्चुला लगायतका ९ जिल्लाका समन्वय समितीका सदस्यहरु सहभागी छन् । उनीहरुले जिल्ला समितीका पदाधिकारीहरुको सेवा सुबिधाहरु प्रदेश अनुरुप फरक–फरक भएकोले एकरुपता गर्नु पर्ने, संविधानले प्रदान गरेको काम कर्तब्यलाई प्रभावकारी बनाउन आवश्य वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।




