काठमाडौं, ८ माघ । विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए।
अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न केही दिनअघि राष्ट्र बैंकलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चको बैठकमा जानुअघि यस्तो निर्देशन दिएको बताएका थिए। राष्ट्रबैंकका एक उच्च अधिकारीले अर्थमन्त्री खतिवडाको मौखिक निर्देशन आएको जानकारी दिए।
‘सुमार्गीले रकम सारेको बैंकको खाता रोक्न अर्थमन्त्रीले मौखिक निर्देशन दिनुभएको हो,’ उनले भने, ‘लिखित रुपमा भने आइसकेको छैन तैपनि हामीले अदालतको आदेश र अर्थमन्त्रीको निर्देशनअनुसार काम अगाडि बढाएको छौं।’ ती अधिकारीले रकम स्थानान्तरण गरिएको बैंकको नाम भने खुलाउन चाहेनन्।
सर्वोच्च अदालतको आदेशबमोजिम सुमार्गीले बैंक खातामा रकम यथास्थितिमा राख्नुपर्ने राष्ट्रबैंक विदेशी विनिमय विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए। ‘अदालतको आदेशबमोजिम बैंक खातामा रकम राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘अरु बैंक खातामा भएको रकमबाट भए पनि असुल उपर गर्नुपर्छ।’
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।