श्याम गुप्ता
बारा, २१ पुस । सरकारले बाराको डुमारावानामा विशेष आर्थिक क्षेत्र (सेज) मा स्पेशल गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गर्ने नीति अनुरुप हाल ब्लक ‘ए’ को कुल ३ सय ४२ बिघा क्षेत्रफल मध्ये एक सय ६० बिघा क्षेत्रमा आन्तरीक सडक संजालको काम अन्तिम चरणमा पुगेको छ । ब्लक ‘ए’ मा ३९ फिटे मुख्य र २८ फिटको शाखा बाटोहरु निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको हो ।
करिब दुइ अर्बको लागतमा निर्माण हुने सेजको प्रशासनिक तथा सेवा भवनहरुको कामले समेत तिब्रता पाएको छ । सेवा भवनहरुमा पनि बिमा, बैंक, भन्सार, खानेपानी ट्यांकी जस्ता सेवालाई एकिकृत गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सेजमा ३५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
आयोजनाका ईन्जिनियर दिनेश न्यौपानेले करिब एक वर्ष भित्रमा ब्लक ‘ए’ को सबै काम सम्पन्न गरी ईच्छुक उद्योगीहरुलाई उद्योग स्थापनाका लागि अपिल गर्न सकिने बताए ।
सेजमा अहिले ब्लक ‘ए’ सँगसँगै ब्लक ‘बि’ र ‘सि’ को पनि डिपीआर तैयार भै पर्खाल लगाउने काम सुरु भएको छ । डि र ‘ई’ को डीपीआर गर्ने तयारी भईरहेको बताईएको छ । पहिलो चरण अन्तर्गत ८ सय ३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ ।
यस वर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याईएको थियो । सेजलाई छिटो स्थापित गर्न सके विदेशी वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर गराउनुको साथै बढ्दो बेरोजगारी समस्याको न्यूनीकरण गर्न सकिने विज्ञहरुको भनाई छ ।