काठमाडौं, ७ पुस । विधानमाथिको एक महिना लामो छलफलपछि कांग्रेसमा १७१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्न नेताहरू सहमत भएका छन् । गत मंगलबार कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुवै सहमहामन्त्री निर्वाचन गर्ने गरी सहमति जुटेको थियो । तर, त्यसको भोलिपल्टै समावेशी आधारमा पदाधिकारी बढाउनुपर्ने माग भएपछि समावेशी आधारमा आठवटै क्लस्टर (महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, खस आर्य र पिछडिएको क्षेत्र) गरी आठवटैमा सहमहामन्त्री निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय समितिको आकार १६७ सदस्यीयसम्म रहने नेताहरूको भनाइ छ ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी १३, समावेशीमा दलित नौ, मधेसी नौ, आदिवासी १५, खसआर्य १३, थारू चार, मुस्लिम तीन र अल्पसंख्यक एक गरी ५४ जना समावेशी हुनेछन् । पेसाकर्मी र विपन्नका तर्फबाट एक÷एक रहनेछन् । सभापतिले ३३ जना (२० प्रतिशत) मनोनीत गर्न पाउनेछन् । ३५ जना खुला सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी २१ जना, खुलातर्फ महिला नौजना रहने बताइएको छ । शुक्रबारको केन्द्रीय समितिले पास गरेको विधानको मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णहादुर खड्काले शनिबार महासमिति बैठकमा पेस गर्ने भएका छन् ।
अन्ततः पछि हटे देउवा
विधानको पनि पदाधिकारी कति बढाउने र कसरी चयन हुने भन्नेमा कांग्रेसमा एक हप्ताभन्दा लामो समय दर्जनौँपटकसम्म छलफल भयो । मंगलबार कोषाध्यक्षबाहेक सात पदाधिकारी निर्वाचित गर्ने गरी भएको सहमति भोलिपल्टै समावेशिताको विषयले टुटेको तीन दिनपछि शुक्रबार जातीय÷क्षेत्रीय विभिन्न आठ क्लस्टरलाई सहमहामन्त्रीमा समेट्ने सहमतिसँगै कुरा मिलेको हो । पार्टी संस्थापन पक्ष जोसुकै सभापतिमा निर्वाचित भए पनि सहज रूपमा काम गर्न दिन केही पदमा मनोनीतको अधिकारी दिनुपर्ने पक्षमा थिए । तर, पौडेल–सिटौला पक्षले संविधानले व्यवस्था गरेअनुसार सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने अडान लिएका थिए ।
अन्ततः यही अडानमा उनीहरूले सभापति देउवालाई गलाउन सफल भएका छन् । तर, कुनै पनि हालतमा मनोनीतमा केही पद राख्नुपर्ने अडानबाट देउवा गलेपछि सहमति जुटेको हो । पदाधिकारी बढाउन भएका निरन्तरका छलफलका क्रममा पदाधिकारीमा केहीको निर्वाचन गर्ने र केही केन्द्रीय समितिका निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित गर्ने विकल्प पनि ल्याएका थिए । तर, नेताहरू महाविधेशनबाटै निर्वाचित गर्ने विकल्पमा पुगेका हुन् ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




