बाघदूत ! जो बाघको पञ्जाबाट फुत्के र बाघकै संरक्षणमा जुटे | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

बाघदूत ! जो बाघको पञ्जाबाट फुत्के र बाघकै संरक्षणमा जुटे

bhadai tharu

काठमाडौं, २२ मंसिर । चोरीशिकारी नियन्त्रणकै अभियानमा थिएँ, तर बाघले मलाई नै छाडेन। पाटेबाघको पञ्जाबाट फुत्किएर ज्यान त बचाएँ, बायाँ आँखा बचाउन सकिनँ,’ बर्दिया मधुवनका भदै थारुले कहालीलाग्दो कथा सुनाए। उनलाई दिउँसै १ बजे पाटेबाघले झम्टेको थियो। तीन मिनेटसम्म बाघसँग उनी लछारपछार गरे। आँखा गुम्यो। टाउको, गर्धन र हात पूरै चोटैचोट भयो। यो २०६० साल पुस २२ गतेको घटना हो।

भदै चोरीशिकारी अनुगमनमा जंगल पुगेका थिए। खोला नजिकै थियो। बाघ दिउँसो पानी पिउन निस्किएको रहेछ। एक्कासि उनलाई झम्टियो। भदै गौरी महिला सामुदायिक वनका अध्यक्ष र खाता क्षेत्र चोरीशिकारी नियन्त्रण समितिको संयोजक थिए।

१६ वर्षअघि बाघले आँखा फुटाइदिए पनि उनी निरन्तर बाघ संरक्षणमा जुटिरहे। मधुवनका अन्य उपभोक्ता बाघले बाख्रा लैजाँदा रिसाउँछन्। तर भदै थारु बाघले आँखा लगे पनि बाघको संरक्षणमा निरन्तर लागि परेको देख्दा सबै उनको प्रशंसा गर्छन्। भदैले लेखपढ गर्ने मौका पाएनन्। १५ वर्षमै उनको बिहे भयो। सात वर्ष कमैया बसे। मधुवन नपा–३ बर्दियामा जन्मिएका ५१ बर्से भदै बाल्यकालदेखि नै संरक्षण अभियानमा छन्।

मुख्य पेशा कृषि भए पनि सामुदायिक वनको अगुवा भएर वन र वन्यजन्तु संरक्षण गर्दै आएपछि विश्व वन्यजन्तु कोषले समेत कामको प्रशंसा गर्दै पुरस्कृत गरेका छन्। विश्वको सम्पत्ति संरक्षण गरेको भन्दै २०६७ सालमा मधुवनमा वन समूहको उद्घाटन गर्न आएका बाघदूत ‘टाइटानिक’का अभिनेता लियोनार्दो डिक्याप्रियोले आँखा छेक्न चस्मा दिए। उनले विदेशी पर्यटक र अभिनेता–अभिनेत्रीबाट नगद पुरस्कार पनि पाए। ठट्टा गर्दै भदैले भने, ‘दोस्रो जन्म हुँदोरहेछ भने बाघ बनेर जंगलको राजा बन्न इच्छा छ।’ उनले गीतमार्फत पनि संरक्षणमा सचेतना गर्दै आएका छन् भने थारु भाषामा संरक्षणको सन्देश दिने गरी वृत्तचित्र पनि निर्माण गरेका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);