मुसहरको पहिलो सामूहिक दशैँको टीका | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

मुसहरको पहिलो सामूहिक दशैँको टीका

musahar tika

बर्दिवास, ३ कात्तिक : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशैँ मनाउँदै टीका लगाएका छन् ।

बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् । यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले आफूहरुका लागि पक्की घर बनाइदिँदा वरपरका अन्य समुदायले पनि सहयोग गरेकाले अहिले ती समुदायले मनाएको महान चाड बडादशैँ आफूहरूले पनि मनाएकोे नमूना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादाले बताउनुभयो ।

घटस्थापनाका दिन ५० घर मुसहरले एकैठाउँमा सामूहिक जमरा राखेका थिए । यसअघि मुसहर भनेर आफूहरुसँग छोइछिटो गर्ने बाहुन क्षेत्री परिवारका नयाँ पुस्ताका युवायुवती आफूहरूको सामूहिक भोजमा सरिक भएका र सँगै बसेर खान पाउँदा आफूहरु पनि अब समाजका सदस्य भएको महसुस भएको यहाँका दलित बताउँछन् ।

सामूहिक टीकामा बर्दिवास–३ गौरीवासका बासिन्दा, बर्दिवास नगरपालिकाका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्की र सञ्चारकर्मी राजकरण महतोलगायतको सहभागिता थियो ।