काठमाडौं, २८ असोज । लेखापढी ब्यवसायीहरुले सरकारले मालपोत कार्यालयहरुमा सरलीकृत फारमको नाममा आफुहरुको रोजीरोटी खोस्न लागेको आरोप लगाएका छन ।
नेपाल लेखापढी कानून ब्यवसायी एसोसिएसनले आइतवार राजधानीमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले सरकारले सबैको व्यवसायमा हस्तक्षेप गरेको बताए । लेखापढी व्यवसायीहरुले सरकारले भुमी सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन सरलीकृत फारमको ब्यबस्था गरेकाप्रति आपत्ति समेत जनाए ।
कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेर बहादुर केसीले संबिधानमा व्यवसाय संचालन गर्न पाउने अधिकार सुनिश्चित गरिएता पनि सरकारले त्यसमा हस्तक्षेप गरेको आरोप लगाए । कार्यक्रममा एशोसिइशनका अध्यक्ष सिताराम दाहालले सरलीकृत फारमको ब्यवस्था सरकारले नसच्याए आफूहरु आन्दोलनमा जाने चेतावनी दिए ।
सरकारले केही दिन अघि मालपोत तथा भूमिसुधार कार्यालयहरुमा सेवाग्राहीको सुबिधाका लागि भन्दै सरकारले सरलीकृत फारमको ब्यवस्था गर्ने निर्णय गरेको थियो ।