एजेन्सी, २७ असोज । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् ।
साउदी वाणिज्य दूतावासमा मारिएको पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी टर्कीका अधिकारीहरुले गरेका हुन् । पत्रकार खसोगी बेपत्ता भएको घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ ।
अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ । टर्कीका अधिकारीहरू आफूसँग रहेको अडिओ र भिडिओ रेकर्डिङले खसोगीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावास भित्र मारिदिएको भन्ने प्रमाणित गर्नेमा विश्वस्त देखिएका छन् ।
पत्रकार जमाल खसोगीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसँग रहेको बीबीसीले जनाएको छ ।
साउदी सरकारका कडा आलोचक जमाल खसोगी, गत अक्टोबर २ तारिखमा साउदी वाणिज्यदूतावासमा प्रवेश गरेयता बेपत्ता छन् ।