काठमाडौं : नेपालमा करिब १५ लाख बालिग नागरिकताविहीन छन्। आमाको नामबाट नागरिकता नपाउने मात्रै १२ लाख हाराहारी छन्। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा गैरसरकारी संस्थामा कार्यरत कानुन व्यवसायीहरूले नेपालको संविधानको धारा ११ को उपधारा ५ बमोजिम नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ। तर, बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ।
कानुन व्यवसायीले राज्य व्यवस्था समितिमा बाबुको पहिचान नभएकाले नागरिकता नपाउने भन्न नमिल्ने तर्क गर्दै भने, ‘आमाले मैले जन्माएको छोरा/छोरी भन्दै नागरिकता दाबी गरेमा स्वतः दिनुपर्ने तर्क गरेका छन्। उनीहरूले भने, ‘नेपालको संविधानले नेपालमै जन्मिएका बालिगलाई नागरिकता प्रदान नगरेकोले करिब १५ लाख बालबालिकाको भविष्य अन्धकारमा छ। यसमध्ये १२ लाख हाराहारीमा एकल महिला र करिब एक लाख बाबुसँग छन्।’
उनीहरूले आमा ‘सत्य’ बाबु ‘विश्वास’ भन्ने आधारमा आमाले आफ्नो बच्चा भन्नासाथ उनीहरूलाई नागरिकता उपलब्ध गराउनुपर्ने माग राखेका थिए। अधिवक्ता मीरा ढुंगानाले राज्य सञ्चालनका लागि नेपालमा जन्मिएका राज्यविहीनलाई नागरिकता दिनुपर्ने तर्क गरिन्। उनले भनिन्, ‘नेपालमा जन्मिएकालाई राज्यविहीन गराउँदै लगे कालान्तरमा राज्य सञ्चालनमा ठूलै बाधा पुग्न सक्छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।