बाबा खोज्दै १६ वर्ष | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

बाबा खोज्दै १६ वर्ष

dwanda ma buba gumayeka

दाङ, १३ असोज ।  श्रीमान् मारिँदा सुनिता चौधरी दुई महिनाको गर्भवती थिइन् । घटना भएको ७ महिनापछि छोरा राजेन्द्र जन्मिए । अलि बुझ्ने भएपछि छोराले बाबाको खोजी गर्न थाले । तर, सुनितासित छोराको चित्त बुझाउन जवाफ थिएन ।

‘सधैं बहाना बनाएर ढाँटिरहनुपथ्र्यो, छोराले विश्वासै गर्थेन,’ उनले भनिन्, ‘कतिपटक विदेश जानु भा’छ भनेर ढाँटे । सानो बालकलाई त्यस्तो डरलाग्दो घटना कसरी सुनाउनु?

सोधीखोजी गर्दागर्दै राजेन्द्र अहिले १६ वर्षका भइसके । उनले अहिले बुवा देख्न नपाउनुको कारण थाहा पाइसके । तर, अझै चित्त बुझेको छैन ।

सशस्त्र द्वन्द्वकाल । २०५९ मंसिर १८ गते राति घोराही उपमहानगर ३, बेलुवा गाउँमा सेना प्रवेश गर्‍यो । थारू संस्कारअनुसार ‘पेन्डे’ (धान भित्र्याएपछि भोज खाने चलन) चलिरहेको थियो । काली चौधरीको घरमा पेन्डे खाएर किसानको समूह सुन्दरलालको घर जाँदै थियो । त्यही बेला गस्तीमा आएको सेनाले स्थानीयलाई पक्राउ गर्‍यो । केही बेरपछि बाटोमै गोली हानेर आठजनालाई एकसाथ मारिएको स्थानीयले बताए । त्यही घटनामा राजेन्द्रका बाबु रामप्रसादको ज्यान गएको थियो ।

राजेन्द्रले बाबुको फोटोसम्म हेर्न पाएका छैनन् । मारिने अधिकांश किसानको फोटो छैन । ‘घटना सुन्दा अचम्म लाग्छ,’ उनले भने, ‘मान्छे बिनाकारण किन मारिन्छन् ? खेतीकिसानी गरिखाने किसानलाई त्यसरी मार्न पाइन्छ ?’

सानैदेखिको यही प्रश्नले सुनितालाई झस्काइरहन्छ । ‘छोराले सोध्न छोडेन । अहिले ठूलो भएपछि सबै कुरा बुझ्यो,’ उनले भनिन् । अनाहकमा श्रीमान् मारिएपछि सुनिताले किसानलाई किन मारेको भनेर धेरै ठाउँमा प्रश्न गरिन् । विभिन्न आयोगमा उजुरी दिइन् । कसैले पनि उनको चित्त बुझाउन सकेका छैनन् । ‘युद्ध देख्न र बुझ्न नपाएको बालकलाई झन् कसरी चित्त बुझ्नु ?’ उनले भनिन्, ‘न्याय खोज्दाखोज्दै थाकिसक्यौं ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);